२०८३ आश्विन ३० || 16 Oct 2026, Friday

रानीमहलको संरक्षण र प्रवद्र्धन गर्ने दायित्व हामी सबैको साझा हो

रानीमहल लुम्बिनी प्रदेशको साझा सम्पत्ति : मुख्यमन्त्री चेतनारायण आचार्य

तत्कालीन पाल्पाका बडाहाकिम खड्गशमशेर जबराले आफ्नी दिवङ्गत पत्नी तेजकुमारीको सम्झनामा विसं १९५४ मा निर्माण गराएको रानीमहल लाई प्रेमको प्रतीक
रानीमहल लुम्बिनी प्रदेशको साझा सम्पत्ति : मुख्यमन्त्री चेतनारायण आचार्य

असोज ३० गते २०८३ / स्नेहा विश्वकर्मा

पाल्पा – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पाको ऐतिहासिक सम्पदा रानीमहलको संरक्षण र प्रवद्र्धनलाई साझा दायित्वका रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।

उहाँले रानीमहललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रयासमा साहित्यको भूमिकासमेत महत्वपूर्ण हुने उल्लेख गर्दै रामचन्द्र खनालद्वारा लिखित ‘रानीमहल’ ऐतिहासिक उपन्यासले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

तानसेन नगरपालिकाले शुक्रबार आयोजना गरेको विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्व २०८३ को शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री आचार्यले उपन्यास विमोचन गर्दै रानीमहल लुम्बिनी प्रदेशको साझा सम्पत्ति भएको बताउनुभएको हो ।

‘रानीमहल लुम्बिनी प्रदेशको ठूलो र साझा सम्पत्ति हो । यसको संरक्षण गर्ने दायित्व हामी सबैको साझा हो,’ उहाँले भन्नुभयो, ‘रानीमहललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने हिसाबले प्रकाशित यो पुस्तकले हाम्रो पर्यटन प्रवद्र्धन अभियानलाई टेवा पु¥याउनेछ ।’

मुख्यमन्त्री आचार्यले रानीमहलको ऐतिहासिक महत्त्व उजागर गर्न लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच ऐतिहासिक बैठक आयोजना गरिएको जानकारी दिनुभयो । रानीमहललाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्दै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने उद्देश्यले प्रदेश सरकारले विभिन्न कार्यक्रम अघि बढाएको उहाँले बताउनुभयो ।

कालीगण्डकी नदी किनारमा अवस्थित रानीमहल नेपालको महत्त्वपूर्ण ऐतिहासिक तथा पर्यटकीय सम्पदा हो । तत्कालीन पाल्पाका बडाहाकिम खड्गशमशेर जबराले आफ्नी दिवङ्गत पत्नी तेजकुमारीको सम्झनामा विसं १९५४ मा निर्माण गराएको यो महललाई प्रेमको प्रतीकका रूपमा समेत चिनिन्छ ।

नदी किनारको चट्टानी पहाडमाथि निर्मित महलको विशिष्ट वास्तुकला र ऐतिहासिक पृष्ठभूमिले यसको महत्त्व थप बढाएको छ । रानीमहलको संरक्षणसँगै यसको इतिहास, वास्तुकला र सांस्कृतिक महत्त्वको प्रचारप्रसार गर्न सके पर्यटन विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

ऐतिहासिक सम्पदालाई साहित्यका माध्यमबाट पाठकमाझ पु¥याउने उद्देश्यले लेखक खनालले ‘रानीमहल’ उपन्यास तयार गर्नुभएको हो । पुस्तकले रानीमहलको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ ।

कार्यक्रममा लेखक रामचन्द्र खनालले पुस्तकबारे जानकारी गराउनुभएको थियो भने प्राध्यापक डा. मुरारी पराजुलीले उपन्यासमाथि टिप्पणी गर्नुभएको थियो ।

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य, संविधानसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, स्थानीय जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतननाथ गिरीले स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस