चैत २३ गते २०८२ / राजेश आचार्य
नेपाल मगर सङ्घ बाँकेले नयाँ वर्ष २०८३ को अवसरमा कोहलपुरमा वृहत् साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत सङ्घले चैत ३० गतेदेखि वैशाख ६ गतेसम्म कोहलपुर–११ न्युरोडस्थित खुलामैदानमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको हो।
सङ्घका अध्यक्ष भुपेन्द्र पुन मगरले मगर समुदायको कला, संस्कृति, भेषभूषा, खानपान र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार कार्यक्रममा सांस्कृतिक झाँकी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, परम्परागत खानाका स्टल, थारु गाउँ र बालमैत्री मनोरञ्जन क्षेत्रसमेत रहनेछ।
नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग जोड्ने र नयाँ वर्षलाई उत्सवमय बनाउने लक्ष्यका साथ आयोजना गरिएको कार्यक्रममा सहभागी भई अवलोकन गर्न आयोजकले सबैमा आग्रह गरेको छ।
