बैशाख ५ गते २०८३ /राजेश आचार्य
कोहलपुर, — मगर समुदायको मौलिक संस्कृति, भेषभूषा, परम्परागत खानपान र सांस्कृतिक झाँकीको जगेर्ना गर्दै नयाँ वर्ष २०८३ को अवसरमा आयोजना गरिएको शुभकामना आदान–प्रदान मेला दिनप्रतिदिन थप उत्साहजनक बन्दै गएको छ। छैटौं दिन विविध सांगीतिक प्रस्तुति सहित भव्य रूपमा सम्पन्न भएको छ।
छैटौं दिन मञ्चमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति देख्न पाइयो। गीत–संगीत र नृत्यले भरिएको कार्यक्रममा दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विशेषगरी गायक कुल बहादुर वलीको जोशपूर्ण प्रस्तुति दर्शकहरूको मन जित्न सफल रह्यो। उनका लोकप्रिय गीतहरूमा दर्शकहरू झुमेका थिए, जसले मेलाको माहोललाई अझ जीवन्त बनायो।
कार्यक्रमका उद्घोषक आर जे रास्कोटी मगरले आफ्नो आत्मविश्वासी प्रस्तुति, स्पष्ट अभिव्यक्ति र दर्शकमैत्री शैलीमार्फत कार्यक्रमलाई निरन्तर ऊर्जावान बनाइरहेका थिए। उनले दर्शकसँगको अन्तरक्रिया, रमाइला प्रस्तुति र सशक्त सञ्चालनले मेलालाई थप आकर्षक बनाएका थिए। उद्घोषक विनोद परियारसँगको उत्कृष्ट समन्वयले कार्यक्रम व्यवस्थापनलाई अझ सुदृढ बनाएको देखिन्थ्यो।
आयोजकका अनुसार भोलि मेलाको अन्तिम दिन झन् विशेष रहनेछ। चर्चित गायिका सुमि रोक्कासहित अन्य कलाकारहरूको प्रस्तुति रहने भएकाले समापन कार्यक्रम थप भव्य हुने अपेक्षा गरिएको छ।
मेला अन्तिम चरणमा पुग्दै जाँदा दर्शकहरूको उत्साह झनै बढ्दो क्रममा रहेको आयोजकले जनाएको छ। यस्तो सांस्कृतिक मेलाले स्थानीय कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
