भाद्र ३१ गते २०८३
सप्तरीको बोदे बर्साइन नगरपालिका–१० अमरैयामा चट्याङ लागेर खेतमा धान गोडिरहेका बाबुछोरीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले बोदे बर्साइन नगरपालिका–१० अमरैयाका ५५ वर्षीय भोला साह र उहाँकी १८ वर्षीया छोरी मधुकुमारी साहको चट्याङ लागेर मृत्यु भएको जानकारी दिनुभयो।
उहाँका अनुसार मङ्गलबार आफ्नै खेतमा धान गोडिरहेका बेला अचानक चट्याङ पर्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।
घटनाबारे दिउँसो जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी निरीक्षकको कमान्डमा टोली घटनास्थल पुगेको थियो।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी सोही दिन साँझ दुवै जनाको शव अन्तिम संस्कारका लागि आफन्तलाई जिम्मा लगाएको जनाएको छ।
घटनासम्बन्धी थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
