असोज २६ गते २०८३/ निराजन वि.क
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा जारी मतगणनाको पछिल्लो अपडेट अनुरुप नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
समितिले उपसभापति पदमा खुल्लातर्फ चन्द्र भण्डारीले सर्वाधिक ३ हजार ७३५ मत पाएर विजयी , मधु आचार्य २ हजार ३४२ ,समावेशी उपसभापति पदमा बिनोद चौधरी १ हजार ७४५ मतका साथ निर्वाचित हुनु भएको जनाएको छ ।
खुला उपसभापतिका अन्य प्रतिस्पर्धीहरूमा गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा.चन्द्र मोहन यादवले ७६० मत प्राप्त गरेका छन् ।
समावेशी उपसभापतिमा प्रतिस्पर्धा गरेका जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रन्जित कर्णले ५६२ मत प्राप्त गरेका छन् ।
महिला उपसभापतिमा यसअघि नै पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसक्नु भएको छ । वरिष्ठ उपसभापति पदमा पनि विश्व प्रकाश शर्मा निर्विरोध निर्वाचित हुनु भएको थियो ।
नेपाली कांग्रेसको महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला निर्वाचित
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन बाट महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ । समितिले खुला महामन्त्री तर्फ पौडेलले ४ हजार १९४ र राणाले २ हजार ३३० मत प्राप्त गरि विजयी हुनु भएको जनाएको छ ।
खुला महामन्त्रीतर्फका अन्य प्रत्यासीहरुमा डा। सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुनले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गर्नु भएको पनि निर्वाचन समितिले जानकारी दिएको छ ।
निर्वाचन समितिले महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मतसहित निर्वाचित हुनु भएको जनाएको छ । महिला महामन्त्रीमा प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गर्नु भएको छ ।
