आजभोलि माना छरेर मुरी फलाउने यस समयमा गहुँको बीउ नपाउदा यतिखेर बझाङको जयपृथ्वी नगरपालिकास्थित दर्जनौं गाउँका किसानहरू मारमा परेका छन्। जयपृथ्वी नगरपालिका अन्तर्गतको कृषि विकास शाखाले गहुको बीउ खरिद गर्ने जिम्मा लिएको भएता पनि पर्याप्त मात्रामा बीउ उपलब्ध गर्न नसक्दा स्थानीय किसानहरू मारमा परेका हुन्।
गहुँको बीउ नपाउदा जयपृथ्वी नगरपालिका कृषि शाखामा पुगेका कृषकहरू खाली हात घर फर्कन थलोका छन्। समयमै गहुको बीउ नपाउँदा जयपृथ्वी नगरपालिका क्षेत्रअन्तर्गत पर्ने देवल जिउला, गोलाई जिउला, र सुवेडा जिउलामा रहेको खेतीयोग्य जमिनमा खेती हुन सकेको छैनन्। खेतमा गहुँ छर्ने समय सकिन थाल्दा समेत बीउ नपाएपछि स्थानीय कृषकहरू गहुँ उत्पादन घट्ने भन्दै चिन्तित भएका छन्। पहिलो पटक १०० क्विन्टल गहुँको बीउ खरिद गरी बिक्री वितरण गरेको र नाम दर्ता भएका किसानलाई मात्र बीउ उपलब्ध गराइएको जयपृथ्वी नगरपालिका कृषि विकास शाखाले जनाएको छ। यस अघि जयपृथ्वी नगरपालिकाअन्तर्गत कृषि शाखाले प्रतिकेजी २५ का दरले किसानलाई गहुँको बीउ बिक्री वितरण गर्दै आएको छ। कृषि विकास शाखाले सवै किसानहरूलाई समयमै गहुँको बीउ उपलब्ध गराउनु पर्ने स्थानीय कृषकले माग गर्दै आएका छन्।
