प्रदेश सातको राजधानी धनगढी कायम नगरिए प्रदेश सभा भवनलाई आगो लगाएर ध्वस्त पार्ने धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वडलाई कारबाही गर्न सांसदहरुले प्रशासनसँग माग गरेका छन् । कार्यक्रममा उनले सांसदका घरमा आगो लगाउने जस्ता अभिव्यक्तिसमेत दिएका थिए ।
प्रदेश सभाका २१ जना सांसदहरुले मेयर वडलाई पक्राउ गरेर ‘मुलुकी अपराध संहिता २०७४’ अनुसार कारबाही गर्न मागसहित संयुक्त रुपमा जिल्ला अधिकारी समक्ष उजुरी दिएका हुन् । उनले संसद भवनअगाडि बुधबार प्रदेश सभामा सत्ता पक्षका सांसदहरुको घरमा आगो लगाउने, भौतिक आक्रमण गर्ने भन्दै अपाच्य शब्द प्रयोग गरेका थिए । सोही अभिव्यक्ति दिएको भन्दै उनलाई कारबाही हुनु पर्ने माग सांसदहरुले गरेका छन् ।
मेयर वडको अभिव्यक्ति पश्चात आफूहरुलाई केही व्यक्तिले पिछा गर्ने, निगरानी गर्ने गरेको भन्दै सांसदले प्रशासनसँग सुरक्षासमेत माग गरेका छन् । सांसदहरुले २४ घण्टाभित्र धनगढी छाड्नुपर्ने, नभए आक्रमण गर्ने चेतावनी दिइएकाले अप्रिय घटना, हुलदङ्गा हुन सक्ने तथा शान्ति सुरक्षामा खलल पुग्न सक्ने भएकाले मेयर वडले परिचालित व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउनु पर्ने मागसहित उजुरी गरिएको छ ।
मेयर वडको अभिव्यक्तिको भिडियोलगायत प्रमाणहरु पेश गरेको सांसदहरुले बताएका छन् । मेयर जस्तो सार्वजनिक पदमा रहेको व्यक्तिले सांसदहरुमाथि भौतिक आक्रमण गर्ने चेतावनी दिनु निन्दनिय भएको सांसद लिलाधर भट्टले बताए ।
‘मेयरले संसद भवन उडाउने, सांसदलाई आगो लगाएर जलाउने, मार्ने जस्ता आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।’ भट्टले भने, ‘लोकतन्त्रमा सबैभन्दा ठुलो संसदमाथि नै प्रहार हुनु निन्दनिय छ ।’ मेयरको अभिव्यक्तिले आफूहरुको ज्यान जोखिम हुन सक्ने, साम्प्रदायिकता भड्किन सक्ने उनले बताए ।
सांसद महेशदत्त जोशीले शान्तिपूर्ण रुपमा विरोध गर्नु, माग गर्न पाउनु संवैधानिक अधिकार भए पनि सार्वजनिक पदमा बसेको व्यक्तिले सार्वजनिक रुपमा सांसदमाथि नै आक्रमण गर्छु भन्नु अक्षम्य भएको बताए ।
के भनेका थिए मेयर वडले
बुधबार दिउँसो संसद भवनमा प्रदेशको नाम र राजधानीको प्रतिवेदनमाथि छलफल हुँदै गर्दा राजधानी अत्तरिया सिफारिस गरिएको विरोधमा संसद बाहिर कांग्रेस कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरेका थिए ।
प्रदर्शनको नेतृत्व गरिरहेका कांग्रेस धनगढी नगर सभापतिसमेत रहेका मेयर वडले प्रदेश राजधानी धनगढी कायम नगरिए प्रदेश सभा सदस्यहरुलाई आगो लगाएर जलाउने अभिव्यक्ति दिएका थिए । ‘राजधानी धनगढी नभएसम्म आन्दोलन जारी राख्ने मात्र होइन, जलाएर मारिन्छ । यिनीहरुले १७ हजार मान्छे मारे हामी यिनीहरुलाई मारिदिने परिस्थिति बन्छ,’ उनले भने ।
राजधानी अन्यत्र सार्ने निर्णय गरेको २४ घण्टाभित्र धनगढी छोड्नसमेत उनले चेतावनी दिएका थिए । प्रदेश सभा र सांसदहरु वन माफिया र तस्करबाट बिक्री भएका आरोप मेयर वडको थियो ।
मेयर वडले बिहीबार विज्ञप्ति जारी गर्दै आक्रोशमा आफूबाट त्रुटि हुन गएको बताएका छन् । राजधानी बारे धनगढीका बासिन्दाबाट सुझाव नलिएर यहाँका बासिन्दाको भावनामा चोट पु¥याउने भएको र यसकै आवेग र आक्रोशमा आफूबाट केही गलत शब्द निस्कन गएका उनले स्वीकार गरेका छन् ।
