दाङको घोराहीमा उपन्यास ‘अप्रिल फुल’माथि चर्चा गरिएको छ । लेखक कृष्ण आचार्यले उपन्यासमा दाङको परिवेश समेटिएकोबारे जानकारी गराएपछि कार्यक्रमका सहभागी खुसी भए । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको आयोजनामा घोराहीमा लेखक आचार्यसँग उनको पुस्तकबारे परिचर्चा गरिएको हो ।
कार्यक्रममा बोल्दै आचार्यले आफ्नो गृहजिल्ला पनि भएका कारण पुस्तकमा दाङका अधिकांश स्थान र परिवेश समेटिएको जानकारी दिए । ‘यहाँका गुम्बा, सडक र पात्रका कथा उपन्यासमा समेटिएका छन्,’ आचार्यले भने । आधुनिक समाजको युवा मनोविज्ञानलाई लक्षित गरी उपन्यास लेखिएको जानकारी आचार्यले कार्यक्रममा दिएका थिए । यो युवाका लागि आफ्नो कथा भएको र अभिभावकका लागि आफ्ना सन्तानको कथा भएको लेखक आचार्यले बताए ।
कार्यक्रममा बोल्दै साहित्यकार उत्तमकृष्ण मजगैयाँले उपन्यास जस्तो जटिल विषयबाट लेखनको सुरुवात गर्नु भविष्यका लागि सफल हुनुको संकेत भएको चर्चा गरे । कुनै पनि लेखकले आफनो किताबसँग आफनो आयु दाँज्नुपर्ने बताउँदै उनले लेखकको जीवन उसको कलामा निहित रहने बताए। अर्का साहित्यकार नीमबहादुर थापाले ‘अप्रिल फुल’ उपन्यास दाङका लागि अमूल्य सम्पत्ति भएको चर्चा गरे ।
साहित्यकार एवं पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासनले सरल ढंगले लेखिएको उपन्यासले पाठकको मन छुने बताए । कार्यक्रममा बोल्दै गजलकार बाबु त्रिपाठीले पुस्तकमा सामाजिक अवस्था जोडिएको र यसमा प्रेम मात्र नभएर समाजका विविध पक्षको चर्चा गरिएको बताए ।
