–
– प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले आफूमाथि गरेको विश्वासलाई तलमाथि पर्न नदिने बताउनुभएको छ । मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको एग्रो मनाङ स्याउ फार्मको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको अपेक्षा र विश्वासलाई आफूले तलमाथि हुन नदिने बताउनुभएको हो ।
‘देशले म सँग विकासको अपेक्षा गरेको छ । शुसासनको अपेक्षा गरेको छ । भष्ट्राचार नियन्त्रणको अपेक्षा गरेको छ’, ‘जनताको यी विश्वास र अपेक्षालाई तलमाथि पर्न दिन्न ।’ प्रधानमन्त्री ओलीको भनाई थियो ।,
भ्रष्टाचार गर्नेलाई कडा कारबाही गर्ने बताउँदै प्रम ओलीले भन्नुभयो ‘भ्रष्टचारीको मुख पनि हेरिँदैन र पद पनि हेरिँदैन । जुनसुकै तहको भएपनि कारबाही हुन्छ । यसमा सबै ढुक्क हुनुहोस ।’
उहाँले उर्भर भूमि र स्रोत साधन प्रयोग गरेर देशलाई समृद्ध बनाएरै छाड्ने विश्वास समेत व्यक्त गर्नुभयो । ओलीले देश समृद्ध र सुखी नेपाली बनाउन धेरै समय नलाग्ने बताउनुभयो ।
‘अहिलेको सरकार जनताको सरकार हो । यसले जनताका निम्ति काम गर्छ, यहाँहरु ढुक्क रहनुहोस’, प्रधानमन्त्री ओलीकोे भनाई थियो । विकास गर्ने संकल्प लिएर अघि बढ्दा कुनै अभाव नहुने भन्दै प्रधानमन्त्री ओलीले विकास गरेरै देशलाई धनी बनाउन सकिने बताउनुभयो ।
कृषिमन्त्री चक्रपाणि खनाल सँगै पुग्नु भएका ओलीले चालु आर्थिक वर्षमा देशका ४ जिल्लामा एक लाख उन्नत प्रजातिका स्याउका विरुवा वितरण गर्न लागिएको बताउनुभयो ।
मनाङसहित मुस्ताङ, जुम्ला र कालिकोटमा २५ र २५ हजार विरुवा वितरण गरिन लागिएको र त्यसका लागि विदेशबाट विरुवा खरिदका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तरगत १० करोड बजेट विनियोजन गरिएकोप्रधाननमन्त्रीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीसँगै नेकपाका महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुभास नेम्वाङ, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रमुख सचेतक देव गुरुङ र प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतका नेताहरु मनाङ पुग्नु भएको थियो ।
