२०८३ कार्तिक १ || 17 Oct 2026, Saturday

सुख शान्ति र समृद्धि हुने धार्मिक विश्वास

सूर्यलाई अर्घ दिएर ३६ घण्टादेखि निराहार र निर्जल व्रत बसेकाहरुले बुधबार छठ पर्व समापन

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सूर्यलाई अघ्र्य दिई पूजार्चना गरेका थिए
सूर्यलाई अर्घ दिएर  ३६ घण्टादेखि निराहार र निर्जल व्रत बसेकाहरुले बुधबार छठ पर्व समापन

३६ घण्टादेखि निराहार र निर्जल व्रत बसेकाहरुले बुधबार छठ पर्व समापन गरेका छन् । आज चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन गरिएको हो ।

नदी, तलाउ, पोखरी, खोला र सार्वजनिक स्थानबाट व्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ दिएका छन् । उनीहरुले हिजो अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए ।
उनीहरु पूजा समापन गरी आ–आफ्नो घर फर्किएका छन् । घर फर्किने क्रममा महिलाका वेदना र छठी माताको महिमा गाउने चलन छ । साथै पूजा समापन गरी चेलीबेटीलाई टीका लगाइदिएर प्रसाद वितरण गर्ने चलन छ ।

सूर्यको उपासनासहित छठी माताको पूजा गरेमा रोगव्याध निको हुने, सन्तान प्राप्त हुने तथा परिवारमा सुख शान्ति र समृद्धि हुने धार्मिक विश्वास छ ।

काठमाडौं उपत्यकासहित देशभरका नदी, खोला, पोखरी, तलाउ, नहरमा श्रद्धालुहरुको घुइँचो छ । छठका व्रतालुहरु छठ घाटमा भजनकिर्तन गरेर बसेका थिए । विशेषगरी तराई मधेसका जिल्लाका सार्वजनिक स्थलहरु भक्तिमय संगीतले गुन्जिएका छन् ।
विगतमा मिथिलाञ्चल क्षेत्रमा मात्र मनाइने छठ पर्वलाई हाल काठमाडौं उपत्यकासहित देशभरका पहाडे समुदायले पनि विशेष आस्था र भक्तिपूर्वक मनाउँदै आएका छन् ।

छठ पर्वका अवसरमा स्थानीय कमलपोखरी पुगेर मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सूर्यलाई अघ्र्य दिई पूजार्चना गरेका थिए।

राष्ट्रपति भण्डारीले अपराह्न ४ बजे तथा उपराष्ट्रपति पुनले साँझ ५ बजे कमलपोखरी पुगेर पूजाअर्चना गरेका हुन् । कमलपोखरी छठ पूजा समितिले आयोजना गरेको छठ पर्व विशेष कार्यक्रममा उनीहरु सहभागी भएका थिए ।

सो क्रममा विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्‍याउने पाँच जनालाई सम्मान गरिएको थियो । गीतकार रत्नशम्शेर थापा, नियात्राकार घनश्याम राजकर्णिकार तथा समाजसेवी इन्द्रदेव मिश्र, सुरेश जैन र भक्तबहादुर सिंहलाई राष्ट्रपति भण्डारीले कदरपत्रसहित सम्मान गरिन् ।

सांसद गगनकुमार थापाले आठ वर्षदेखि कमलपोखरीमा छठ पर्व मनाउन थालिएको जानकारी दिए । शुरुवातका समयमा बर्तालुको अभावमा खोजेर ल्याउनुपरेको कमलपोखरीमा अहिले यति ठूलो सद्भावका साथ राष्ट्रिय पर्वका रुपमा छठ मनाउन पाउनु गर्वको कुरा भएको उनले प्रतिक्रिया दिए ।

छठको पूजा गर्नका लागि काठमाडौं उपत्यकाका कमलपोखरी, गहना पोखरी, गुहेश्वरी, वागमती, विष्णुमतीसहित देशभरका छठघाटलाई झकिझकाउ पारिएको छ । देशका प्रमुख स्थानमा सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो ।

रौतहट सदरमुकाम गौरको बरहवा ताल, शिवगंगा घाट, गौर ५ को पोखरी लगायत औरैया, गंगा पिप्रा, शिवनगर, गरुडा, लालबकैया, बाग्मती तथा चन्द्रनिगाहपुरको चादी नदी किनार  ,बाँकेको नेपालगञ्ज,झापाको मेची लगायत अधिकांश जलाशयहरुमा आज व्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ दिएका थिए

प्रतिक्रिया दिनुहोस