नेपालको सात धाम मध्ये पश्चिम नेपालको ऐतिहासिक तथा पर्यटकीय धार्मिक तिर्थस्थल प्यूठानको स्वर्गद्वारी आश्रम भेटीकै भरमा चलिरहेको छ । आश्रम संचालनको लागि अहिले भक्तजनको दानदक्षिणा मात्र मुख्य आय श्रोत बनेको आश्रमले जनाएको छ ।
आश्रमको स्वामित्वमा रहेको विभिन्न ठाउँको गुठी, जग्गा उपभोग गर्न नपाउँदा आश्रम सञ्चालनमा समस्या देखिएको आश्रमका लेखापाल वासु भट्टराइले बताए । दाङमा रहेको एक हजार १२ बिघा जमिन तत्कालीन माओवादीको द्वन्द्व पहिले भोगचलन गर्नेहरूले आश्रमलाई केही रकम बुझाउने गरेका थिए । द्वन्द्वको समयमा तत्कालीन बिद्रोही माओवादीले जमिन कब्जा गरेको घोषणा गरेपछि आश्रमको प्रमुख आयस्रोत बन्द हुन पुगेको उनले बताए ।
आश्रमको खर्च
स्वर्गद्धारी आश्रममा एक सय ५० को हाराहारीमा कर्मचारी कार्यरत रहेका छन् । त्यस्तै एक सय विद्यार्थी ९बटुक० अध्ययनरत छन् । त्यहाँको गौशालामा चार सय भन्दा बढी गाई रहेको छ । विद्यार्थी, आश्रमका साधुसन्त, ब्राहमण गरी दैनिक दुई सय ५० जनाको लागि खाना पाक्छ । सबैको लागि स्वर्गद्धारी आश्रमको दैनिक खर्च ६० हजार रुपैयाँ भन्दा माथि हुनेगरेको भट्टराईले बताए ।
आश्रममा आउने भक्तजन, भेटी र दानपत्रबाट आम्दानी हुने भएपनि अन्य स्रोत नहुँदा आश्रम सञ्चालनमा समस्या परेको उनले बताए । नियमित भक्तजन नआउने हो भने आश्रम ६ महिनासम्म सञ्चालन गर्नपनि समस्या हुने उनले बताए ।
फैसला भयो, कार्यन्वयन भएन
द्वन्द्वका कारण जग्गाको आयस्ता प्रयोग गर्न नपाएको भन्दै आश्रमले २०६० सालमा सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको थियो । अदालतले २०६२ चैत १४ गते आश्रम स्वामित्वको निजी गुठी आफंैले प्रयोग गर्न पाउने र बसोबास गरिरहेकाले मोहियानीसमेत नपाउने फैसला गरे पनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको भट्टराईले बताए । आश्रमका नाममा रहेको जग्गाको आम्दानी व्यावस्थित गरिए स्वर्गद्वारीलाई अरुको भर पर्न नपर्ने नागरिक समाजका अगुवाहरुको धारणा छ ।
के छ स्वर्गद्धारीमा?
स्वर्गद्धारी मन्दिरमा वेदमन्त्रबाट प्रकट भएको अग्निद्वारा सञ्चालित यज्ञकुण्ड यरहेको छ । उक्त यज्ञकुण्ड वि।स।१९५२ सालदेखि हाल सम्म पनि निरन्तर बलिरहेको छ । यस मन्दिरमा बिषेशगरी बैशाख पूर्णिमा, गाई तिहार औंसी, बिजया दशमी, माघे संक्रान्तिलगायतका पर्वमा मेला लाग्ने गरेको छ भने अन्य समयमा पनि दैनिक पूजापाठ भइरहन्छ ।
कसरी पुगिन्छ स्वर्गद्धारी?
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत दाङको भालुवाङबाट प्यूठानको भिग्री हुँदै र दाङको घोराही हुँदै होलेरी सडकबाट स्वर्गद्धारी पुग्न सकिन्छ । भालुवाङबाट करिब ५५ किलोमिटर पक्की सडक हुँदै स्वर्गद्वारीको आधार शिविर भिग्री पुगिन्छ र भिग्रिबाट साढे १३ किलोमिटर उकालो कच्चीसडक पार गरेपछि धरमपानी बजार पुगिन्छ । धरमपानीबाट झन्डै डेढ किलोमिटर सिँढीबाट चढेपछि तिर्थस्थल स्वर्गद्धारी पुगिन्छ । धरमपानीबाट पैदल हिँड्न नसक्नेहरूको लागि घोडा चढेर स्वर्गद्धारी पुग्न सकिन्छ ।
