फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को बहुप्रतीक्षित खेलमा मंगलबार राति डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र इजिप्ट आमनेसामने हुँदैछन्। यस खेलको विजेताले क्वाटरफाइनलमा स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेल जित्ने टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
यो खेललाई वर्तमान फुटबलका दुई चर्चित कप्तान लियोनेल मेसी र मोहम्मद सलाहबीचको रोचक प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ। दुवैले आ–आफ्नो टोलीको नेतृत्व गर्दै अन्तिम आठमा स्थान सुरक्षित गर्ने लक्ष्य राखेका छन्।
अर्जेन्टिनाले अघिल्लो चरणमा विश्वकपमा पहिलो पटक सहभागी भएको केप भार्डेलाई निकै कठिन संघर्षपछि पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो। निर्धारित समय र अतिरिक्त समयमा भएको आत्मघाती गोलकै मद्दतले अर्जेन्टिनाले अर्को चरणको यात्रा तय गरेको थियो। त्यसैले प्रशिक्षक लियोनेल स्कालोनीले इजिप्टविरुद्ध टोलीले अझ सतर्क भएर खेल्ने बताएका छन्।
स्कालोनीका अनुसार इजिप्ट व्यवस्थित र बलियो टोली हो, जसले लामो समयदेखि एउटै प्रशिक्षकको नेतृत्वमा राम्रो फुटबल खेल्दै आएको छ। उनले मोहम्मद सलाहलाई विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक भन्दै उनलाई रोक्न आफ्नो टोली तयार रहेको बताए।
केप भार्डेविरुद्ध पूरा १२० मिनेट खेलेका ३९ वर्षीय मेसी इजिप्टविरुद्धको खेलका लागि पूर्ण रूपमा फिट रहेको पनि स्कालोनीले स्पष्ट पारे।
विश्वकपको गोल्डेन बुट दौडमा मेसी, फ्रान्सका किलियन एमबाप्पे र नर्वेका इर्लिङ हालान्ड समान सात गोलसहित प्रतिस्पर्धामा छन्। दुई असिस्टका कारण एमबाप्पे अग्रस्थानमा रहेका छन्। विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पनि मेसी र एमबाप्पेबीच रोचक प्रतिस्पर्धा जारी छ। मेसीले हालसम्म २० तथा एमबाप्पेले १८ गोल गरिसकेका छन्।
यता इजिप्टले अन्तिम ३२ को खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो। टोलीका कप्तान मोहम्मद सलाहले यस विश्वकपमा चार खेल खेल्दै एक गोल गरेका छन्। लिभरपुलबाट बाहिरिएपछि हाल उनी कुनै पनि क्लबसँग आबद्ध छैनन्।
दुवै टोलीका कप्तानको नेतृत्व, अनुभव र व्यक्तिगत प्रदर्शनका कारण अर्जेन्टिना र इजिप्टबीचको यो भिडन्त अन्तिम १६ कै सबैभन्दा आकर्षक खेलमध्ये एक हुने अपेक्षा गरिएको छ।
