असार ३२ गते २०८३
साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरे सँगै स्पेन र अर्जेन्टिना वीच फाइनल खेल हुने पक्कापक्की भएको छ ।
अमेरिकास्थित एटलान्टा स्टेडियममा बिहीबार बिहान भएको खेलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २–१ गोलले हरायो । यसअघि पहिलो सेमिफाइनल खेलमा स्पेनले साविक उपविजेता फ्रान्सलाई २–० गोलले हराएर फाइनलमा प्रवेश गरेको हो ।
अर्जेन्टिनाको जितमा एन्जो फर्नान्डेज र लौटारो मार्टिनेजले गोल गर्नुभयो । खेलमा सुरुवाती अग्रता इङ्ल्यान्डले लिएको थियो । ५५औँ मिनेटमा एन्थोनी गोर्डनले पोस्ट नजिकबाट जाली चुमाउनुभएको थियो ।
त्यसपछि थप आक्रामक बनेको अर्जेन्टिनाले ८५औँ मिनेटमा बराबरी गोल फर्कायो । एन्जो फर्नान्डेजले कप्तान लियोनल मेस्सीको पासमा डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।
फर्नान्डेजको शसक्त प्रहारलाई विपक्षी गोल रक्षकले नियाल्न समेत भ्याउनुभएन । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा लौटारो मार्टिनेजले उत्कृष्ट हेड गोल गर्दै अर्जेन्टिनालाई उपाधि नजिक पुर्याउनुभयो ।
उहाँले कप्तान मेस्सीकै पासमा गोल गर्नुभएको हो । कप्तान मेस्सीको गोल गर्ने प्रयास भने सफल भएन । दुवै गोलमा पास मिलाउनुभएका मेस्सी प्लेयर अफ दि म्याच हुनुभयो ।
मेस्सी जारी विश्वकपमा सर्वाधिक आठ गोल गर्दै गोल्डेन बुटको दौडमा हुनुहुन्छ ।
इंग्ल्यान्डले फ्रान्ससँग शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
विश्वकप फुटबलको इतिहासमै अहिलेसम्मकै ठूलो विश्वकपको रहेको यस संस्करणको विश्वकप तीन फरक राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा ले आयोजना गरेका हुन् ।
यसपटक अहिलेसम्मकै धेरै ४८ राष्ट्रले विश्वकप का लागि खेलेका छन्। विश्वकप चल्ने दिन बढेर ३९ दिन पुग्दा खेल संख्या १०४ पुगेको थियो । विश्वकपको एकै संस्करणमा यो अहिलेसम्मको धेरै खेल हो ।
एजेन्सी
